४ भदौ, विराटनगर ।
आगामी दुई सातापछि बस्नेगरी कोशी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले भदौ १४ गते बस्नेगरी प्रदेशसभा बैठक डाकेका हुन् ।
चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक पुनः बस्न सकेको थिएन । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि असन्तुष्टि व्यक्त गरेपछि बैठक डाकिएको हो ।
यसअघि भने सभामुख विष्टले भने नेपाली कांग्रेस सरकारमा सहभागी भइनसकेकाले उसलाई सत्तापक्षमा राखि कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए ।
तर, एमालेका सांसदहरूले पनि बैठक राख्न चर्को दबाब दिएपछि सभामुखले बैठक बोलाएका हुन् । बैठक भदौ १४ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।(यसअघि प्रदेशसभा सचिवालयले भदौ १८ गते भनेर विज्ञप्ति जारी गरेको र पछि फेरि सच्याइएकोले समाचारमा पनि सच्याइएको छ-सम्पादक)