७ भदौ, विराटनगर ।
काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।
एन्फा मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने खेलमा दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुने छन् ।
आज समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्सले खेल्न आँटेका हुन् । जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ ।
आफ्नो पहिलो खेलमा हार बेहोरेको माल्दिभ्सलाई पनि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने दबाब छ । यता, यस समूहमा एक खेल जितेको भुटान पनि सेमिफाइनलको दौडमा छ ।प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । नेपाल आफ्ना दुवै खेल जितेर यस समूहको विजेता बनेको छ भने बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।
अब, आजको खेल पछि सेमिफाइनलको समीकरण पूरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।