सहकारीको बचत अपचलन : रवि र छविसँग एकैदिन बयान

७ भदौ, विराटनगर ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समिति पछिल्लो समय भरपुर सक्रियताका साथ लागिपरेको छ । समितिले एकपछि अर्को गर्दै सहकारीको ठगी प्रकरणका आरोपितहरूको बयान लिने कामलाई तीव्रता दिएको छ ।

नियतबस ठगी गर्ने गिरोह नै सक्रिय रहेको निष्कर्षसहित छानबिन थालेको समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । सोधपुछ–बयानलाई प्रतिवेदनमा उतारेर उक्त प्रतिवेदन सरकारलाई बुझाउने तयारी समिति छ ।

गत जेठ १५ गते एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको छानबिन समितिले सहकारी प्रकरणमा मुछिएका विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने समितिको तयारी छ ।

Advertisement

समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई बयानका लागि शुक्रबार (आज) बोलाएको छ । उनका साथै भोलि नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई सोधपुछका लागि बोलाइएको छ ।

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छवि र रविलाई एकै दिन बोलाएको हो । पहिले जोशी र त्यसपछि लामिछानेको बयान लिने समितिको तयारी छ । जोशीको आमाको निधन भएकाले ६ गतेसम्म ‘काजक्रिया’मा बस्नुपर्ने भएकाले समितिले भोलिका लागि जोशीसहित रविलाई बोलाएको हो ।

Advertisement

यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने समितिको कार्यसूची थियो । तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले बयानमा आउने बताएका थिए । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको बताइएको छ । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जिवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँदै आएका रवि टिभीबाट राजीनामा दिएर राजनीतिमा हानिएका थिए ।

रास्वपाको स्थापना गरेर पार्टीलाई सदनमा २१ सिट संख्या दिन सफल लामिछानेका नाममा पनि करोडौं रकम आएको दाबी नेताहरूले गर्दै आएका छन् । तर, लामिछानेले भने आफूले अहिलेसम्म अनधिकृत रूपमा सहकारीको पैसा नलिएको दाबी गर्दै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रहँदा रविले सहकारी ठगी प्रकरणमा आफूलाई झूटो आरोप लगाइएको दाबी गर्दै आफूप्रति विपक्षीहरू र सञ्चारमाध्यमले ‘पूर्वाग्रह’ राखेर आरोप लगाएका थिए । तथापि, संसदीय छानबिन समिति गठनप्रति आफ्नो आपत्ति नरहेको उनले त्यसबेला बताएका थिए । अब, आज हुने बयानले पनि धेरै कुराको उजागर गर्ने विश्वास लिइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top