७ भदौ, विराटनगर ।
फ्रान्स फुटबल टोलीको प्रशिक्षकमा गेराल्ड ब्याटिकल नियुक्त भएका छन् । शुक्रबार फ्रान्सका पूर्वखेलाडीसमेत रहेका ५४ वर्षीय ब्याटिकल प्रशिक्षकमा नियुक्त भएका हुन् ।
फ्रान्सेली फुटबल महासंघले आधिकारिक रूपमा ब्याटिकललाई प्रशिक्षकको जिम्मा दिइएको जनाउँदै उनीसँग सन् २०२५ सम्मको सम्झौता गरिएको जनाएको छ ।
यसअघि फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका थिए ।
हेनरी फ्रान्सका पूर्वखेलाडी पनि हुन् । उनले सन् १९९८ को विश्वकप विजेता फ्रान्सको टिममा सहभागी थिए । त्यसबाहेक उनले आर्सनल, बार्सिलोना, युभेन्टसलगायत परिचित टोलीबाट व्यवसायिक फुटबल खेलेका छन् ।पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएपछि उनको स्थानमा महासंघले ब्याटिकललाई प्रशिक्षक बनाएको हो ।
ब्याटिकल पनि फ्रान्सका स्ट्राइकर हुन् । सन् २००८ यता भने उनले विभिन्न क्लबहरूमा प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।