७ भदौ, विराटनगर ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितले राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग पाउने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरले बाढीबाट प्रभावितहरूका लागि खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ सहयोग गरिदिने छ ।
गत साउन ३२ गते खुम्बु क्षेत्रका हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण थामे गाउँका एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रुपमा क्षति भएको थियो ।