९ भदौ, एजेन्सी ।
सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेसँगै अरू सोसल मिडिया सञ्चालकहरू पनि समातिन्छन् कि आशंका सबैतिर छ ।
निजी जहाजबाट फ्रान्स पुगेका पाभेल अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ परेका अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।
३९ वर्षीय रुसी नागरिक दुरोभ टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ परेको बताइएको छ । रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ तिर बन्द गरिएको टेलिग्राम पछिल्लो समयमा भने सञ्चालनमा आएको थियो ।
अहिले टेलिग्रामको मुख्यालय संयुक्त अरब इमिरेट्स (युएई) मा छ । केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए ।रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल नै टेलिग्राम हो । दुरोभ पक्राउपछि अर्को सामाजिक सञ्जाल एक्सका सञ्चालक एलन मस्क पक्राउ पर्छन् किन भन्ने आशंका बढेको हो ।
दुरोको पक्राउपछि अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार भएर अहिले डोनाल्ड ट्रम्पलाई साथ दिएका विवेक रामास्वामीले सामाजिक सञ्जाल एक्समा एलन मस्कलाई पनि भविष्यमा पक्राउ गर्न सक्ने भन्दै लेखेका छन्, ‘अहिले टेलिग्राम । पछि एक्स ।’ जवाफमा मस्कले भनेका छन्, ‘शत् प्रतिशत ।’
ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल एक्समा प्रत्यक्ष दखल राखेका छन् । आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउनेट्रम्पको योजना छ ।
पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् ।
ट्रम्पलाई चुनाव खर्चको जोहो समेत मस्कले नै गर्दै आएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।
त्यसबाहेक पाभेल पक्राउ परेपछि मस्कले उनलाई तत्काल रिहा गर्नुपर्छ भन्ने माग एक्समार्फत् राखिरहेका छन् । यसकारण मस्क पनि पक्राउ पर्छन् कि भन्ने आशंका सबैतिर बढेको बताइएको छ ।