११ भदौ, विराटनगर ।
स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति तेस्रो चरणको खेलमा बार्सिलोना र रायो भालेकानोले प्रतिस्पर्धा गर्दैछन् । मड्रिडस्थित भालेकानोको मैदानमा हुने उक्त खेलमा बार्सिलोना लगातार तेस्रो जितको खोजीमा हुँदा घरेलु टोली दोस्रो जित निकाल्ने दाउमा छ ।
उक्त खेलमा बार्सिलोनाका नयाँ खेलाडी डेनी ओल्मो र भालेकानोमा हालै अनुबन्धित जेम्स रोड्रिग्वेज हुन्छन् कि भन्ने उत्सुकता फुटबलप्रेमीहरूमा छ । के सोमबारमात्र भालेकानोमा अनुबन्धित रोड्रिग्वेज र अगस्ट महिनाको सुरुमा बार्सिलोना आएका ओल्मो आजको खेलमा हुन्छन् त ?
भालेकानोका प्रशिक्षक इनिगो पेरेजले बार्सिलोनाविरुद्ध रोड्रिग्वेज नहुने बताइसकेका छन् । यता, ओल्मोले भने भालेकानोसँग खेल्दै बार्सिलोनाका लागि डेब्यु गर्ने सम्भावना रहेको छ ।
बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले ओल्मोलाई डिफेन्डर आन्द्रेस क्रिटेन्सनको स्थानमा मौका दिने बताएका छन् । चोटका कारण क्रिस्टेन्सन आज उपलब्ध हुने छैनन् । तथापि, आधिकारिक रूपमा भने बार्सिलोनाले भालेकानोसँगको खेल खेल्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छैन ।
स्पेनका प्लेमेकर ओल्मोलाई बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको थियो । २६ वर्षीय ओल्मो र बार्सिलोनाबीच ६ वर्षे सम्झौता भएको छ ।
यता, कोलम्बियन स्टार फुटबलर रोड्रिग्वेज भने एक वर्षको सम्झौता गरी स्पेनको राजधानी मड्रिडमा रहेको भालेकानो आएका हुन् । केही समय क्लबविहीन रहेका रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेजलाई ला लिगा क्लब रायो भालेकानोले अनुबन्ध गरेको हो ।
भालेकानोले ३३ वर्षीय राेड्रिग्वेजसँग एक वर्षका लागि सम्झौता गरेको छ भने जहाँ थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान पनि उल्लेख छ ।