१२ भदौ, विराटनगर ।
हालै अनुबन्धित डानी ओल्मोको डेब्यु गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित आत्मसात् गरेको छ । बार्सिलोनाले मंगलबार राति रायाे भालेकानोलाई उसैको मैदानमा २-१ गाेलले हराएको थियो ।
स्पेनको राजधानी मड्रिडस्थित भालेकासमा भएको खेलमा बार्सिलोनालाई जिताउन ओल्मोले एक गोल गर्दा पेड्रीले एक गोल गरेका थिए । भालेकानोका उनाई लोपेजले एक गोल गरे ।
भालेकानोले लोपेजको गोलमा नवौं मिनेटमा अग्रता लिएको थियो । तर, पेड्रीले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
स्पेनी प्ले मेकर ओल्मोले ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए । उनी हालैमात्र आरबी लाइपिजबाट बार्सिलोनामा अनुबन्ध भएका खेलाडी हुन् । उनले डेब्यु खेलमै पहिलो गोल गरे ।
यससँगै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यो सिजन तीन राउन्डपछि तीन जित हात पार्ने एक मात्र टोली बनेको छ ।
बार्सिलोनाले तीन खेलबाट ९ अंक जोडेको छ । उसले समान खेलबाट ७ अंक जोडेको भिल्ला रियललाई उछिनेको हो । रायो समान खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा यथावत् छ ।