१२ भदौ, एजेन्सी ।
अमेरिकाको टेक्ससमा भोजपुर घर भएकी २१ वर्षीय मुना पाण्डेको गोली प्रहार गरी हत्या भएको छ । टेक्ससस्थित ह्युस्टन सहरमा रहेको एक कलेजमा अध्ययनरत मुनालाई अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ ।
ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर उनको हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । पाण्डेको छातीमा गोली लागेको पाइएको छ ।
अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेन्ट’ ले चिनिन्छ । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।
उन सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको छ ।मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैंले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् ।
उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको आशंका गरिएको छ । कोठाभित्र भेटिएका पुरुषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुषसमेत बस्ने शंका गरिएको बताइएको छ ।
अपार्टमेण्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।
त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।
मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्विच्डअफ थियो ।