१२ भदौ , एजेन्सी ।
भोक लाग्दा कस्तो हुन्छ, त्यो हामी सबैलाई थाहा छ । हामीलाई एकछिन भोक खेप्न कति गारो हुन्छ । दुई छाक टन्न खाएपनि दिउँसोको खाजाको भोकसमेत झेल्न नपरोस् भन्ने हामीलाई लाग्छ । यस्तोमा भोकमरी कस्तो हुन्छ भन्ने कुरा सबैका लागि कल्पना बाहिरको कुरा हो । नेपालमै दुई छाक खान नपुग्ने परिवार पनि छन् ।
तर नेपालीले अपवाद बाहेक भोकमरी र अनिकालकै अवस्थाको भने समाना गर्नुपरेको छैन् । अहिले कतिपय यस्ता देशहरु छन्, जहाँ भोकमरीले जर्जर बनाएको छ । तिनै मध्यको एक हो अफ्रिकी राष्ट्र नामिबिया । नामिबियामा खाने अन्न सकिएपछि सरकारले नै जंगली जनावर मारेर भोका जनतालाई खुवाउन लागेको छ ।
भोकमरी बढेपछि नामिबियाले ८३ वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ । नामिबियाले जङ्गली जनावर मारेर तीव्र खडेरीका कारण खाना पाउन सङ्घर्ष गरिरहेका मानिसहरूलाई मासु वितरण गर्ने योजना बनाएको वातावरण मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज र सामुदायिक क्षेत्रका जनावर मार्ने योजना बनाएको छ । चरन क्षेत्र र पानी कम भएका तर जनावर धेरै भएका जङ्गलका जनावर मारिने खबरमा उल्लेख छ । नामिबियाले मार्ने जनावरमध्ये ८३ वटा हात्ती रहेका छन् । यस्तै,४० वटा जलगैँडा, ६० वटा अर्ना, १ सय ५० वटा जरायो, १ सय वटा निलगाई र तीन सय वटा जेब्राघोडा रहेका छन् ।
संयुक्त राष्ट्र सघका अनुसार दशकौँदेखि सबैभन्दा खराब खडेरीको सामना गरिरहेको नामिबियाले गएको महिना आफ्नो खाद्य भण्डारको ८४ प्रतिशत समाप्त गरिसकेको छ । आउँदा महिनाहरूमा नामिबियाको लगभग आधा जनसङ्ख्याले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने राष्ट्र संघले चेतावनी दिएको छ ।
यदि सरकारले भोकमरीको समस्या समाधान नगरेमा मानव–वन्यजीव द्वन्द्व बढ्ने जोखिम छ । यसअघि नै सरकारले एक सय ५० जनावर मारेर ५७ हजार किलोग्राम मासु नागरिकलाई वितरण गरिसकेको छ । आफ्नो देशले जङ्गल र जनावरको निकै संरक्षण गरिरहेको भन्दै नामिबियाको वातावरण मन्त्रालयले पर्यावरण र विविधतामा फरक नपर्नेगरी सिकार गरेर नागरिकलाई मासु वितरण गरिने जनाएको छ ।
दक्षिण अफ्रिकाका पाँच देशहरू जिम्बावे, जाम्बिया, बोत्सवाना, एन्गोला र नामिबियामा फैलिएको संरक्षण क्षेत्रमा दुई लाख वटा भन्दा धेरै हात्तीहरू बस्ने अनुमान छ । गएको वर्ष बोत्सवाना र जिम्बावेमा खडेरीका कारण सयौँ हात्ती मरेका थिए ।