१४ भदौ, विराटनगर ।
चौथो संस्करणको युइएफए नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टोली घोषणा भएको छ । इंग्ल्यान्डका प्रशिक्षक ली कार्स्लीले नेसन्स लिगअन्तर्गत आयरल्यान्ड र फिनल्यान्डसँग खेल्ने २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
इंग्ल्यान्डले ७ सेप्टेम्बरमा आयरल्यान्डसँग खेल्दै नेसन्स लिगको थालनी गर्ने छ । त्यसको तीन दिनपछि उसले फिनल्यान्डसँग खेल्ने छ ।
उक्त खेलका लागि कार्स्लीले न्युकासलका डिफेन्डर टिनो लिभ्रामेन्टो, लिलेका मिडफिल्डर एन्जल गोमेज, नटिंगम फोरेस्टका मर्गन गिब्स-ह्वाइट र चेल्सीका फरवार्ड नोनफ मडुएकेलाई पहिलोपटक राष्ट्रिय टोलीमा स्थान दिएका छन् ।
चौथो संस्करणको नेसन्स लिगको उपाधि जित्नेगरी इंग्ल्यान्डको टिम तयारीमा जुटेको छ । उसले हालसम्म नेसन्स लिगको उपाधि जित्न सकेको छैन ।
सन् २०१८-१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सो संकरणमा इंग्ल्यान्ड तेस्रो बनेको थियो ।
फ्रान्स सन् २०२०-२१ को युइएफए नेसन्स लिगको हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो । नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा भने क्रोएसियामाथि पेनाल्टीमा जित निकालेको स्पेनले नेसन्स लिगको उपाधि जितेको थियो ।