१८ भदौ, विराटनगर ।
अब सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरङ सेवा (ओपिडी) लगायत सेवा सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको हो ।
मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ सेवालगायतका सेवाहरू अरू दिनमा जस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्री कार्यालयको पत्रपछि स्वास्थ्यले मातहतका अस्पताललाई सार्वजनिक बिदाको दिनमा पनि ओपिडीलगायतका सेवाहरू निर्वाध सञ्चालन गर्न निर्देशन दिएको हो ।
सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीले जानकारी दिए ।
२०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिनजस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा ओपिडीसमेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
अस्पतालहरूले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ ।