१८ भदौ, विराटनगर ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रतिलाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बैठकमा बोल्दै सांसद खतिवडाले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।
एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
सोही विषयमा बोल्दै सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै खतिवडाले मन्त्रीहरूलाई बोल्दा जिब्रोमा ब्रेक लगाउन सुझाव दिए ।
‘म सत्तापक्षकै सांसद हुँ, तर माननीय सूचना तथा संचारमन्त्रीज्यूले केही दिन पहिले नपाल प्रहरीका आइजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ,’ खतिवडाले भने ।
‘मन्त्रीहरूलाई अनुरोध गर्न चाहान्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँकहाँ लगाउनुपर्ने हो ब्रेक, लाग्दै गर्ला । तर, मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । यसको जवाफ संसदमा दिइयोस्,’ उनले थपे ।