१८ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनसहित सबै खेलाडी बुधबार स्वदेश फर्कने भएका छन् ।
कास्यपदक जितेकी २१ वर्षीय पलेशासहित तीनै खेलाडी बुधबार बिहान काठमाडौं आइपुग्ने भएका हुन् । बिहान ८ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।
लगत्तै उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराउने छ । राखेपका अनुसार विमानस्थलबाट पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्याइनेछ ।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।
उनीहरू पनि बुधबार स्वदेश फर्किँदै छन् ।