२० भदौ, विराटनगर ।
मोरङको विराटनगर महानगरपालिका-९ स्थित हिमालयन रोडमा पुनः यसपालि विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लि. ले आगामी असोज १७ गतेदेखि विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो ।
मन्जिना मुभिजले विगत चार वर्षदेखि निरन्तर रूपमा आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ विराट सडक महोत्सव गर्दै आएको छ ।
नेपालीहरूको महान् चाड विजया दशमीलाई लक्षित गर्दै यो वर्ष पनि दसैंमा असोज १७ देखि २३ गतेसम्म सातदिने विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो ।
करिब ३० वटा विभिन्न जातिका खानाका स्टलहरूका साथै स्वदेशी उत्पादनका स्टल रहने मन्जिना मुभिज क्रियसनका संस्थापक जतिन ताम्राकारले जानकारी दिए । थप मनोरञ्जनका लागि हरेक साँझ साँस्कृतिक कार्यक्रम पनि रहने उनको भनाइ छ ।‘दसैंमा आफ्नो घर विराटनगर फर्किनु हुने विराटनगरबासीको लागि र मनोरञ्जनको लागि अब कहीँकतै नजानु पर्दैन । महोत्सव अवलोकन गर्नका लागि प्रवेश निःशुल्क छ,’ उनले भने ।