२० भदौ, विराटनगर ।
गृहमन्त्री रमेश लेखकले ६ वर्षअघि भएको निर्मला पन्त हत्या र बलात्कार घटनामा अहिले पनि अनुसन्धान भइरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त २०७५ साउन ११ मा घरनजिकैको उखुबारीमा मृतावस्थामा फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ ।
तर, अहिलेसम्म प्रहरीले अपराधीलाई समाउन सकेको छैन । ६ वर्षपछि गृहमन्त्री लेखकले कञ्चनपुर पुगेर निर्मला पन्त बलात्कार र हत्या प्रकरणलाई आफूले गम्भीर रूपमा लिएको बताएका हुन् ।
निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले भने, ‘निर्मला प्रकरणको अनुसन्धान जारी छ । थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ । म कसैलाई दोष दिने पक्षमा छैन । अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ ।’निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले सहयोग गर्ने उनले बताए । निर्मलाको न्यायिक आन्दोलनका क्रममा कांग्रेस नेता लेखक पनि सहभागी भएका थिए । अहिले उनै लेखक गृह मन्त्रालयको जिम्मेवारीमा छन् ।