२२ भदौ, एजेन्सी ।
इजरायली सेनाको गोली लागेर प्रदर्शन गरिरहेकी अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया आयसेनुर इज्गी एगीको मृत्यु भएको छ ।नाब्लुसनजिकै रहेको बेइटा भन्ने ठाउँमा शुक्रबार इजरायली सेनाको गोलीबाट उनको मृत्यु भएको ‘द गार्जियन’ ले लेखेको छ ।
दोहोरो नागरिकता भएकी उनी उक्त सहरमा नयाँ यहुदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार एगीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन् । इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।
शुक्रबारको प्रदर्शनमा संलग्न अन्य व्यक्तिका अनुसार एगी अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा यो पहिलोपटक भाग लिइरहेकी थिइन् । अन्तर्राष्ट्रिय एकता आन्दोलन (इन्टरन्यासनल सोलिडारिटी मुभमेन्ट) प्यालेस्टाइन समर्थक समूह हो ।यसैबीच युवती मारिएको घटनालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘दुःखद’ भनेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भनेका छन् ।