घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।
२३ भदौ, झापा ।
झापाको दमकमा भएको गौ हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेर राखिएको दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा झापा प्रहरीले चार जनालाई समातेको हो ।
मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मामन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।
गाईगोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटेर मासु लगेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
जसक्रममा संलग्नता देखिएपछि चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेमबहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका-४ बस्ने गीता श्रेष्ठ रहेका छन् ।
घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।