२३ भदौ , काठमाडौं ।
ओलम्पिकमा नेपालका लागि इतिहासमै पहिलो पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्द्धनलाई नेपाली कांग्रेसले पाँच लाख नगदसहित सम्मान गरेको छ ।
आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
पलेशाले भदौ १४ गते के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । यसअघि नेपाली खेलकुदमा एसियाली खेलकुद प्रतियोगितामा प्राप्त दुई रजत पदक नै सर्वोच्च थियो । तर, २१ वर्षीया पलेशाले ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा गरेकी थिइन् ।
ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको थियो । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । तर, सहभागितामै रम्दै आएको नेपालको ओलम्पिक यात्रामा पदकको सपना पूरा गर्ने काम पारा तेक्वान्दो खेलाडी पलेशाबाट सम्भव भएको हो ।
फ्रान्सको राजधानी पेरिसमा भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई अहिले सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ छ । नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको थियो । त्यसमाथि प्रधानमन्त्री ओलीले कर छुट नै गरेर पलेशालाई सम्मानस्वरुप पुरस्कार दिने प्रतिबद्धता जनाएका थिए ।
यस्तै, एनसेलले १० लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो । पलेशालाई १० लाख दिँदा अरू सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यससँगै काठमाडौं महानगरपालिकाले पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको थियो ।
साथै, पलेशाका प्रशिक्षक लामालाई तीन लाख नगदसहित महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सम्मान गरेका थिए । उनलाई नेपाल उद्योग वाणिज्य महासंघले पलेशालाई रु तीन लाख, प्रशिक्षक लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
त्यसबीचमा समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन् । खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवीका रूपमा परिचित राणाले प्रशिक्षक लामालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेकी थिइन् ।
यता, कान्तिपुर टेलिभिजनले आफ्नो प्रमोटिङ पार्टनरका रूपमा पलेशालाई अनुबन्धित गरेको छ । कान्तिपुर टेलिभिजन, पलेशा र नेपाल तेक्वान्दो संघबीच भएको त्रिपक्षीय सम्झौतामा तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
२१ वर्षीया पलेशा हाल चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन् । उनले पुरस्कारको रकम आफ्नो अध्ययनमा खर्चिने बताएकी छन् ।