२४ भदौ, विराटनगर ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज सुरुआत गर्ने भएको छ । आगामी १६ सेप्टेम्बरबाट हुने क्यानडा र ओमानविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्यानडालाई पहिलो प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्यान्ड्ससँग भने दुई अंक खोस्न सफल भयो ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउने छ ।
नेपालले दोस्रो खेल ओमानसँग खेल्नेछ । तीन दिनको रेस्ट लिएर नेपाल पुन: घरेलु टोलीसँग खेल्न उत्रिनेछ । त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ ।उक्त सिरिजको तयारीका लागि नेपाली अहिले टोली श्रीलंकामा छ । क्यानडामा हुने दोस्रो चरणको त्रिकोणात्मक सिरिजका लागि नेपालले एकदिवसीय अभ्यास खेलहरू खेलिरहेको छ । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।
नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ ।
असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी–२० सिरिज सुरु हुनेछ । दुवै सिरिजमा नेपालले चार–चार खेल गरी कुल ८ खेल खेल्नेछ । नेपालले क्यानडामा लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो ।
क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।