२४ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न नपाएको भन्दै गुनासो पोखेकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री र गृहमन्त्रीका पार्टीनिकट विद्यार्थी संगठनबीचको लडाईंका कारण विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पढ्न र जाँच दिन नपाएको बताएकी हुन् ।
दुई विद्यार्थी संगठनको लडाईंमा पढ्छुमात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाएको बताउँदै उनले विश्वविद्यालयमा पढाई कम राजनीति बढी हुने पनि बताइन् ।
उनले भनिन्, ‘विद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थाल्यो । एउटा प्रमको पार्टी अर्को गृहमन्त्रीको पार्टी । जेनतेन पढाई गरेकाहरूले समयमा दीक्षित हुन पनि पाएनन् । विद्यार्थीहरूलाई के गर्न सिकाउँदैछौं ? न पढ्न दिन्छौं, तालाबन्दी गर्छौं । जेनतेन पढेर जाँचमा जान्छौं । जाँचपनि राम्ररी हुन दिँदैनौं । दीक्षित भएपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौं ।’