२४ भदौ, दाङ ।
धन हुनेलाई चैन भनेको यहीँ हो । धन नहुनेहरू क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएको कारागारमा बसेर मृत्यु वरण गर्न बाध्य छन् । कोही भने कैद सजाय रकममा परिणत गरी हेलिकप्टर चार्डर गरेर संघीय राजधानी काठमाडौं उड्छन् ।
मोटरसाइकल चोरी आरोपमा पक्राउ परेर एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएका एक कैदीबन्दीको मृत्यु भएको घटना ताजै छ । मोरङ कारागारमा रहेर कैदभुक्तान गरिरहेका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार (हिजो) विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
तामाङविरुद्ध चोरी कसुरमा दुईवटा मुद्दा चलेका थिए । एउटा मुद्दामा मोरङ अदालतले चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको थियो ।
तीन सय क्षमताको कारागारमा एक हजारभन्दा बढी कैदीबन्दीसामु च्यापिएर बस्नुपर्दा बिरामी भएका तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।यता, कीर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद धनबहादुर केसी (डिबी) कैद सजाय रकममा परिणत गरी एक दिनमै छुटे । एक दिनको कैद भुक्तान पनि उनले कारगारभित्र होइन, जेलरको कार्यालयमा रहेको कोठामा बिताएका थिए ।
तर, भोलिपल्टै रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई एक लाख ९ हजार दुई सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधासहितको आदेश दिएका थिए । अदालतले तोकेको रकम बुझाएपछि एक दिनमै छुटेका सांसद केसी हेलिकोप्टर चार्टर गरी काठमाडौं उडेका छन् ।
केसीविरूद्ध २०४८ साल असार ९ गते कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा तत्कालीन समय केसीले र्कीर्ते गरेको अभियोग प्रमाणित भएपछि अदालतले दोषी फैसला गरेको थियो । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए ।
२०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई सजाय भुक्तान गर्न बाँकी व्यक्तिहरूको विवरण पठाएपछि केसीको कुरा सार्वजनिक भएको थियो । त्यस्तो लगत हरेक वर्ष साउनमा अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई पठाउने गर्छ । २०७५ सालयता हरेक वर्ष साउन महिनामा जिल्ला प्रहरी कार्यालयको नाममा अदालतबाट केसीबारे लगत पठाउँदै आइएको थियो ।
राजनीतिमा आउनुभन्दा पहिले सांसद केसी म्यानपावर व्यवसायी थिए । उनी गएको चुनावमा रुकुम पूर्व जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए ।