२५ भदौ, काठमाडौं ।
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख बनेको १९ महिनापछि नै इन्दिरा रानामगरको राजीनामा माग्न थालिएको छ । नेकपा एमालेका सांसदहरूले उपसभामुख रानामगरको राजीनामा माग गरेका हुन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ। पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।
२०७९ माघ ७ गते उपसभामुखमा बहुमतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगरलाई हटाउने तयारी सत्तारूढ दलहरूको छ । रास्वपा र नेकपा एमालेको घाँटी जोडिँदासम्म रानाले पदीय आचरण कायम नगरेको विषय आचरणको प्रस्तावसम्म पुग्न पाएको थिएन । तर, अहिले नयाँ सत्ता समीकरणमा रास्वपा बाहिरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख रानालाई हटाउन तम्सिएका हुन् ।
प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार उपसभामुख रानामगरलाई पदबाट हटाउन सत्तारूढ गठबन्धनले तयारी थालेका छन् ।