२५ भदौ, काठमाडौं ।
नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामगरलाई नैतिकताको आधारमा राजीनामा गर्न सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाँस्कोटाले व्यक्तिगत रूपमा निरन्तर पीडित हुनुभन्दा राजीनामा गर्नु उपयुक्त हुने बताएका हुन् । प्रश्न उठाउने सबैलाई एकमुष्ट जबाफका लागि राजीनामा गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
साथै, उनले प्रश्न उठेपछि आफूले पनि पदबाट राजीनामा दिएको उदाहरण प्रस्तुत गरे । २०७६ फागुनतिर ओली नेतृत्वकै मन्त्रिपरिषद्मा सहभागी बाँस्कोटाले अडियो प्रकरणपछि राजीनामा दिएका थिए ।
ओलीका विश्वासपात्र बाँस्कोटा सञ्चारमन्त्री एवं प्रवक्ता रहँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो । २०७६ फागुनमा पत्रकार सम्मेलन गर्दै बास्कोटाले ‘नैतिकताका आधारमा राजीनामा दिएको’ बताएका थिए । २०७५ साल जेठ १९ गते मन्त्रीमा नियुक्त भएका बास्कोटाको १९ महिनामै पद फुस्किएको थियो ।‘जब सदनमा पटक–पटक प्रश्न उठ्यो भने, मैले राजीनामा दिएको थिए, दोषी भए कारबाही गरियाेस् भनेर । यो नैतिकता, आँट र साहस राजनीति गर्नेमा हुनुपर्छ । यत्रो प्रश्न उठेको छ भने आफ्नो पदबाट मार्गप्रशस्त गरेर बाँकीलाई एकमुस्ट जवाफ दिनुस् । यो मेरो व्यक्तिगत सुझाव हो,’ उनले भने ।
उपसभामुखको लेटरप्याड दुरुपयोग गरेर केही व्यक्तिलाई अमेरिकाको भिसा सहजीकरण गरेको प्रकरणमा रानामाथि प्रश्न उठेको थियो । यही विषयलाई लिएर सभामुखलाई हटाउने तयारी भएका समाचार बाहिर आएका छन् । यो विषयलाई लिएर मंगलवार संसदमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।