२५ भदौ, विराटनगर ।
केही दिनअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति विवादित बन्यो । ‘नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को जिब्रो थुत्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएपछि सबैतिर उनी आलोचना सिकार बने । केही दिनको विवादपछि साम्य भयो, पद पनि जोगियो ।
तर, बोलीमा संयम नहुँदा केही नेताहरूले पद गुमाउनुपरेको इतिहास हामीसँग छँदै छ । नेकपा एमालेबाट मन्त्री बनेका शेरबहादुर तामाङ र गोकुल बाँस्कोटा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरतसिंह भण्डारी र माओवादीका मातृकाप्रसाद यादव आदिले बेलगाम भएर बोल्दा मन्त्री पद ‘चैट’ भएको थियो ।
शेरबहादुर तामाङः
तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले २०७५ साउन ३ गते बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूबारे दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । एमबीबीएस अध्ययनरत नेपाली छात्राले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको अभिव्यक्ति दिएपछि उनी विवादमा फसे ।
त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकारले दबाब दिएपछि राजीनामा गर्ने निधोमा पुगे, तामाङ । विवादित अभिव्यक्ति दिएको पाँच दिनपछि अर्थात् २०७५ साउन ८ गते उनले पत्रकार सम्मेलन गरेर रुँदै पदबाट राजीनामा दिए । अधिवक्तासमेत तामाङ २०७४ चैत २ गते कानुनमन्त्री बनेका तामाङले चार महिनाजति पदमा आसीन हुन भ्याए ।
गोकुल बाँस्कोटाः
ओली नेतृत्वकै मन्त्रिपरिषद्मा सहभागी एमालेका गोकुल बास्कोटालाई उनको बोली नै गलपासो बन्यो । २०७६ फागुनतिर उनी सञ्चारमन्त्री एवं प्रवक्ता थिए । ओलीका विश्वासपात्र बाँस्कोटाले बोलीकै कारण विवादमा परेपछि पद त्याग्न बाध्य हुनुप¥यो । तथापि, बास्कोटा शेरबहादुर तामाङजस्तो सार्वजनिक अभिव्यक्तिका कारण विवादमा परेका भने होइनन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए । २०७६ फागुन तामाङकै शैलीमा पत्रकार सम्मेलन गर्दै बास्कोटाले ‘नैतिकताका आधारमा राजीनामा दिएको’ बताएका थिए । २०७५ साल जेठ १९ गते मन्त्रीमा नियुक्त भएका बास्कोटाको १९ महिनामै पद फुस्किएको थियो ।
शरतसिंह भण्डारीः
संघीयता आउनुभन्दा आगावै २०६८ सालतिर तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले पनि बोलीकै कारण पदबाट बहिर्गमन हुनुपर्यो । २०६८ भदौ ११ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रक्षामन्त्री रहेका भण्डारीको अभिव्यक्तिकै कारण मन्त्री पद गुमेको थियो । तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का अध्यक्ष रहेका उनले ‘मधेश टुक्रिन सक्ने’ अभिव्यक्ति दिएका थिए ।
मन्त्री बनेको एक महिनापछि उनले दिएको उक्त अभिव्यक्ति विवादित बन्यो । विज्ञप्ति निकालेरै मिडियाले आफूले बोलेको कुरा पस्किएको भन्दा पनि उनको विरोध हुन कम भएन । त्यसबेला प्रतिपक्षीमा रहेका कांग्रेस र एमालेले बर्खास्तीको मागसहित संसद अवरुद्ध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए । त्यसपछि प्रधानमन्त्री भट्टराईले कात्तिक २ मा व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै दलको सिफारिसमा रक्षामन्त्री भण्डारीलाई पदमुक्त गरेको जानकारी गराएका थिए ।
मातृकाप्रसाद यादवः
त्यसभन्दा अघि २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पनि सहभागी भएको थियो । चैत १८ मा माओवादी सरकारमा जाँदा पार्टीका तर्फबाट मातृकाप्रसाद यादव वन तथा भूसंरक्षण मन्त्री बनेका थिए । तर, आफ्नो बोली गलपासो बन्दा उनी चार महिनामै मन्त्रीबाट बाहिरिए ।
एउटा कार्यक्रममा नेपाली सेना प्रकृति संरक्षण विरोधी रहेको बताएपछि उनको अभिव्यक्ति विवादित बनेको थियो । रक्षामन्त्रीसमेत रहेका तत्कालीन प्रधानमन्त्री कोइरालाले यादवसँग उनको अभिव्यक्तिको विषयमा स्पष्टीकरण मागेका थिए । तर, उनले मन्त्रिपरिषद्को बैठक नै बहिष्कारसमेत गरे ।
मन्त्री यादवले ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालयको ट्वाइलेटमा थुनिदिएका थिए । यादवले सरकारमाथि मधेसी जनताको मुक्तिको चाहनाविपरीत षडयन्त्र गरेको, सशस्त्र द्वन्द्वका घाइतेहरूलाई राहत र क्षतिपूर्ति नपाएको, वन मन्त्रालयमा व्याप्त भ्रष्टाचार रोक्न सरकारले असहयोग गरेको जस्ता आरोप लगाएका थिए । विवादैविवादमा फसेपछि उनले २०६४ साल साउन १७ गते कोइराला नेतृत्वको सरकारबाट अलग हुनुपरेको थियो ।