२५ भदौ, एजेन्सी ।
अर्जेन्टिनाका पूर्वगोलकिपर ओस्कार उस्तारी र कप्तान लियोनल मेसीबीच १६ वर्षपछि पुनर्मिलन भएको छ । अमेरिकन क्लब इन्टर मियामीका मालिक डेभिड बेकह्यामले ‘सरप्राइज’ रूपमा उस्तारीलाई भित्र्याएसँगै मेसीसँग उनको पुनर्मिलन भएको हो ।
युरोप र दक्षिण अमेरिकाका उत्कृष्ट लिग खेलेको अनुभव संगालेका ३८ वर्षीय उस्तारीलाई सोमबार मियामीले अनुबन्ध गरेको हो । उस्तारी र मेसीले सन् २००८ को बेइजिङ ओलम्पिक एकसाथ अर्जेन्टिनी टोलीबाट खेलेका थिए ।
डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले नाइजेरियालाई १-० गोलले हराउँदै स्वर्ण जितेको थियो । सन् २०१३ देखि नै उस्तारीले देशका लागि खेल्न पाएनन् । व्यवसायिक फुटबलतर्फ पनि मेसी र उस्तारीको भेट हुन पाएको थिएन । तर, मियामीका मालिक बेकह्यामले उनीहरूलाई पुनर्मिलन गराइदिएका हुन् ।
मियामीमा अनुबन्ध भएपछि उनले मेसीसँग पुनः खेल्न पाउने भएपछि खुसी महसुस भएको सुनाएका छन् । ‘मियामीजस्तो क्लबमा अनुबन्ध हुने अवसर पाएर धेरै नै उत्साहित छु । यो मेरा लागि ठुलो उपलब्धि हो,’ उनले भनेका छन्, ‘मेसीसँग पुनर्मिलन हुने भएपछि झन् धेरै खुसी लागेको छ । लामो समयपछि मेसीका साथ मैदानमा उत्रन पाउने कुराले उत्साह थपिएको छ ।’उस्तारीले सन् २००७ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । तर, २०१३ सम्मको अवधिमा उनले राष्ट्रका लागि मात्र दुई खेल खेल्न पाए । उनी कतिपय खेलमा टोलीमा परेनन् भने केही समय घाइते भए । कतिपय खेलमा भने उनी बेन्चमै सीमित बनेका थिए ।
उनै उस्तारीलाई बेकह्यामले आफ्नो टोली मजबुत गराउने क्रममा भित्र्याएका हुन् । यद्यपि, उनले सन् २०२४ को अन्त्यसम्ममात्र मियामीका लागि खेल्नेगरी सम्झौता गरेका छन् । बेकह्यामले मेसी, लुइस स्वारेज, सर्जियो बुस्क्वेट्स र जोर्डफ अल्बालाई पनि आफ्नो क्लबाट खेलाउँदै आएका छन् ।