२६ भदौ, विराटनगर ।
आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिल पाराग्वेसँग हारेको छ ।बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाराग्वेसँग १-० गोलले हारेको हो ।
घरेलु मैदानमा पाराग्वेका लागि डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा गोल गरेका थिए ।
ब्राजिल पछिल्लो चार खेलमा एक जित मात्रै हालिग गर्न सफल भएको छ । यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो । तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ ।
आठ खेलबाट १० अंक जोडेको ब्राजिल तालिकामा पाँचौं स्थानमा छ । पाराग्वे भने समान खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ ।आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।
७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।