२६ भदौ, काठमाडौं ।
ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० गोलले हारेसँगै कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको हो ।
कोशीले महिला लिगको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिलाई ४–० गोलले हराएको थियो । दोस्रो खेलमा कोशीले बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराएको थियो ।
चौथो जितको खोजीमा मैदान उत्रिएको कोशीलाई हराउन पुलिसकी अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती, अमृता जैशीले गोल गरिन् ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । पहिलो हार बेहोरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ । कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो ।