३० भदौ, काठमाडौं ।
आइतबार दिउँसो बस्ने भनिएको प्रतिनिधिसभाबैठक बस्दै नबसी भोलि (सोमबार) का लागि सरेको छ । सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३:१५ बजेसम्म पुर्याइएको थियो । तर, नेकपा माओवादी केन्द्रले संसद बैठक अवरुद्ध पार्ने बताएपछि बैठक सोमबारलाई सरेको हो ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ । नेकपा (माओवादी केन्द्र) ले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी सभामुख घिमिरेलाई दिएको थियो ।
एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए । यो अभिव्यक्तिले ‘जनयुद्ध’ को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो ।सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ । संसद रेकर्डबाट ‘हिंसा’ शब्द नहटेसम्म माओवादीले सदन चल्न नदिने आफ्नो अडान कायमै राखेपछि आइतबार नै सभामुखले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूलाई बैठकमा डाकेका थिए ।