३१ भदौ, एजेन्सी ।
समकालीन विश्व फुटबलका महान् हस्तीमध्येका एक लियोनल मेसीको सन् २०२२ अघि एउटै सपना अधुरो थियो । क्लब फुटबलबाट उपलब्धिहरूको चाङ लगाएका मेसीसँग त्यसबेला विश्वकपकाे उपाधि थिएन ।
स्पेनिस क्लब बार्सिलोनाबाट अथक उपलब्धि बनाएका मेसी राष्ट्रका लागि योगदान गर्न नसकेकोमा आलोचित थिए, निराश थिए । सन् २०१६ तिर राष्ट्रिय टोलीबाट सन्न्यास लिने मनसायमा पुगसकेका थिए, मेसी । २७ जुन २०१६ मा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदै उपाधिबाट बिमुख भएको थियो ।
त्यसबेला आवेगमा आएमा सन्न्यास लिने मन बनाएका मेसीले पछि आफ्नो धारणा बदले । पुनः राष्ट्रिय टिमसँग जोडिएका उनले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाए । मेसीले अर्जेन्टिनाको सिनियर टिमलाई दिलाएको त्यो नै पहिलो उपाधि थियो ।
त्यसअघि मेसीले सन् २००५ मा यु-२० विश्वकप जितेका थिए भने २००८ मा भएको बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।कोपा जिते पनि उनको सपना थियो, विश्वकप जित्ने । सन् २०१४ मा पनि विश्वकपको उपाधिनजिक पुगेको अर्जेन्टिना जर्मनीसँग स्तब्ध हुँदा मेसीको सपना अधुरै रहेको थियो ।
तर, कतारमा भएको विश्वकपमा भने अर्जेन्टिना फ्रान्सलाई स्तब्ध बनाएर विश्वविजेता बनेपछि मेसीको सपना पूरा भयो । खेल करिअरको करिब-करिब अन्त्यतिर पुगेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिन्छन् कि भन्ने चासो चिन्ता सबैलाई छ ।
पछिल्लो समय चोटका कारण निरन्तर मैदानबाहिर बस्नु परेपछि मेसीको अन्तर्राष्ट्रिय खेल जीवनको विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ । केही फुटबल विश्लेषकले छिट्टै नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने आशंकासमेत व्यक्त गरेका छन् ।
३७ वर्षीय मेसीले आगामी विश्वकपअघि नै सन्न्यास लिएमा अर्जेन्टिनाको कप्तानी कसले गर्छ भन्ने कौतूहल पनि सबैमाझ छ । यसबीचमा अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् ।
आफ्नो समयका प्रभावशाली खेलाडी अर्जेन्टिनी पूर्वमिडफिल्डर हुवाँ रोमन रिक्वेल्मले मेसीको खेलको प्रशंसा गर्दै यस्तो बताएका हुन् । लामो समय मैदानबाहिर रहे पनि मेसीले आफ्नो लय नगुमाएको बताउँदै रिक्वेल्म भन्छन्, ‘उनी झनै आक्रामक बनेर मैदानमा फर्किएका छन् । मेरो विचारमा सन् २०२६ को विश्वकपमा पनि उनले नै अर्जेन्टिनी टोलीको नेतृत्व गर्नेछन् ।’
मेसीले तत्काल राष्ट्रिय टोलीबाट सन्न्यास लिने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘लामो खेल जीवनमा खेलाडी घाइते हुनु सामान्य कुरा हो । तर, मेसी अझै लयमा छन् । उनी समकालीन विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले अझै मैदानमा थुप्रै जादु देखाउन बाँकी छ ।’
चोटका कारण दुई महिना मैदानबाहिर रहेर पुनरागमन गरेको खेलमा नै मेसीले दुई गोल गर्दा उनी आबद्ध इन्टर मियामीले सहज जित आत्मसात् गरेको थियो । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा मियामीले फिलाडेल्फियालाई ३–१ गोलले हराएको थियो ।
त्यससँगै मेसी मेजर लिगका पछिल्ला आफूले खेलेका १९ खेलमा १५ गोल र १६ असिस्ट गर्ने पहिलो खेलाडी बने । मेसीले जारी सिजनमा १३ मात्र खेल खेल्दा १४ गोल र १० असिस्ट गरेका छन् । सन् २०२४ मा उनले मियामीका सबै प्रतियोगितामा गरी २९ खेलमा २५ गोल गर्दा १६ गोलमा पास मिलाएका थिए ।
यसअघि बार्सिलोना र पिएसजीका लागि खेलेका मेसीले सबै क्लबमा ७३१ गोल र ३२० असिस्ट गरेका छन् । समग्र फुटबल करिअरमा ८४० गोल गरेका मेसीले ३७५ गोलमा पास मिलाइदिएका छन् ।