Nepal Times
Nepal Times
3
Shares

नेपालको शेयरमा पहिरो, भारतमा अल टाइम हाई

नेपालको शेयरमा पहिरो, भारतमा अल टाइम हाई

८ असोज , काठमाण्डौ ।
आज पनि सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । आज बजार ५८.९३ अंकले घटेर परिसूचक २४७०.३९ बिन्दु कायम भएको छ । बजारमा गिरावट आउँदा परिसूचक २५ सय बिन्दु भन्दा तल झरेको छ ।

नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । ११ः २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो ।

कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६८ करोडको भयो । १० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो । बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे ।

स्वरोजगार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ७.८, इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘अहिले बजार घट्नु पर्ने कुनै पनि विशेष कारण छैन । बजार ३ हजार विन्दुमा पुग्दा जस्तै अहिले पनि बजारका लागि सकारात्मक माहोल नै छ ।

यद्यपी बजार बिना कारण घटिरहेको छ । अहिले घाटामा सेयर बेच्नु पर्ने कुनै कारण छैन ।’ फुल्लेलले बजार पुनः बढ्ने र होल्ड गर्नेले अन्तिममा जित्ने बताए । यस्तै केही बजार जानकारहरुले भने सेयर बजारमा कार्टेलिङ भएको आरोप लगाएका छन् ।

‘नेपाल सरकारले लगानीकर्ताको मनोबल बढाउन ठोस काम गर्नुपर्ने देखिन्छ । अहिले दशैंको प्रभाव समेत बजारमा देखिएको छ । नेपालमा लगातार बजारमा पहिरो झरिरहदा छिमेकी भारतको सेयर बजार भने मंगलबार नयाँ उचाइमा पुगेको छ ।

‘बीएसई सेन्सेक्स’ ८५ हजार ५२ विन्दुमा पुगेकोछ । इन्डेक्स आज ८५ हजार ७७ विन्दुको इन्ट्र डे हाईसम्म पुगेको थियो । त्यसैगरी, ‘निफ्टी ५०’ सूचकांक २५ हजार ९७८ विन्दुको हाईमा पुगेको छ । यो हालसम्मको उच्च हो ।

भारतको सेयर बजारले पछिल्लो ४ दिन लगातार नयाँ उचाइ बनाएको छ । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावको बाबजुद इन्डेक्सले नयाँ उचाइ छोएको इन्डिया टुडेले जनाएको छ ।

तथ्याङ्कलाई हेर्ने हो भने, चालू वर्षमा सेन्सेक्सले १२ हजार ८ सय ४ दशमलव ५९ अंकले वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबार दिनमा सेन्सेक्स ७२ हजार २४०.२६ अंकमा थियो । यसको अर्थ सेन्सेक्सले चालु वर्षमा लगानीकर्तालाई १७.७२ प्रतिशत प्रतिफल दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.