२२ असोज , काठमाण्डौ ।
के तपाइँ दशैंका अवसरमा आइफोन किन्ने सोचमा हुनुहुन्छ । त्यसो हो भने आज हामीले तपाइँका लागि नेपालमा आइफोनको मूल्यबारे केही जानकारी लिएर आएका छौं । नेपाली बजारमा आइफोन १६ सिरिजका स्मार्टफोनको मूल्य १ लाख ५२ हजार ५ सय रुपैयाँदेखि ३ लाख ८ हजार रुपैयाँ तय गरिएको छ ।
नेपालका लागि एप्पलको आधिकारिक रिसेलर इभो स्टोरका अनुसार आइफोन १६(१२८जीबी)को मूल्य सबैभन्दा कम १ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै २५६ जीबीको १ लाख ७१ हजार र ५१२ जीबीको २ लाख ७ हजार ५ सय रुपैयाँ तय गरिएको छ ।
त्यसैगरी, इभो स्टोरले आइफोन १६ प्लस(१२८जीबी)को १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । २५६ जीबीको १ लाख ८९ हजार र ५१२ जीबीको २ लाख२६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस्तै आइफोन १६ प्रो(१२८ जीबीको दाम १ लाख ९५ हजार तय भएको छ ।
२५६ जीबीको २ लाख १३ हजार ५ सय, ५१२ जीबीको २ लाख ५१ ह्जार ५ सय र १ टीबीको २ लाख ८९ हजार ५ सय रुपैयाँ मूल्य इभो स्टोरले तोकेको छ । आइफोन सिरिजको सबैभन्दा प्रिमियम आइफोन १६ प्रो म्याक्स(२५६जीबी)को मूल्य २ लाख ३२ हजार ५ सय रुपैयाँ तय गरिएको इभो स्टोरले जानकारी दिएको छ ।
यस्तै ५१२ जीबीको २ लाख ७० हजार ५ सय र १ टीबीको ३ लाख ८ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मूल्य सार्वजनिक गरेपनि नेपाली बजारमा आधिकारिकरुपमा आइफोन १६ सिरिजका फोन किन्न भने अझै केही समय पर्खनुपर्ने हुन्छ ।
नेपालमा आइफोन १६ का कुनै पनि सिरिज खरिदमा थप १ वर्षको एक्सटेन्डेड वारेन्टी पनि पाइनेछ । एक–एक पटक स्क्रिन र पछाडीको ग्लास पनि रिप्लेस्मेन्ट हुने छ । टेक जायन्ट एप्पले भदौ २४ गते मध्यरातमा आइफोन १६ सिरिज लञ्च गरेको थियो ।
यसअघिका आइफोन सिरिजहरु भन्दा अझ बढी अपडेट गरेर आइफोन १६ सार्वजनिक गरिएको दाबी कम्पनीको छ । कम्पनीले आइफोनसहित एयरपड्स ४ र एप्पल वाच १० पनि सार्वजनिक गरेको थियो ।