२४ असोज , काठमाण्डौ।
हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँमा अन्यत्रजस्तै जनकपुरधाममा पनि भक्तजनहरुको अत्याधिक भीड देखिएको छ । दशैँको सप्तमी तिथिका दिन राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको हो ।
जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । जनकपुरस्थित शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ ।
राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । आज कालरात्री पूजाकालागि प्रसाद अर्पण गर्नेहरुको भीड राजदेवी मन्दिरमा छ । मिथिला पञ्चांगअनुसार अष्टमी तिथि पनि आजै परेकाले राजदेवी मन्दिरमा बलिप्रदान समेत तयारी गरिएको छ ।
प्रसाद अर्पण गर्नेहरुको भीड समाप्त भए लगत्तै बलिप्रदानका लागि आएका श्रद्धालु भक्तजनहरुको भीड समेत बढ्नेछ । यसको व्यवस्थापनकालागि विभिन्न रुटहरु निर्धारण गरिएको छ । यस्तै राजदेवी मन्दिरमा विधिपूर्वक बेलतोरी गरिएको छ ।
नवरात्रीको सातौँ दिन फूलपाती भित्रयाइन्छ जसलाई मिथिलाञ्चलमा बेलतोरी भन्ने गरिन्छ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बेलतोरी विधि तामझामका साथ मनाइन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली सेनाको टुकडी बाजागाजासहित बेलतोरीमा सरिक भयोे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सो विधिका क्रममा सहभागिता जनाउने गरेका छन् । नेपाली सेनाले सो अवसरमा सलामी समेत चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ ।
नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ ।
काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् । रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ ।
टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ । काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् । बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ ।