१ कार्तिक , काठमाण्डौ ।
सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ । बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् ।
उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । साम्पाङ करिब तीन साताका लागि बेलायत भ्रमणमा बिहीबार नै त्यसतर्फ गएका छन् । दशैँको समय पारेर उनले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई पत्र दिएर कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्न पाउने, कार्यपालिका बैठक नबोलाउने र नबसाउने, खानेपानी महसुल वृद्धि विरोधमा दलहरूको आन्दोलनको क्रममा तोडफोड भएको गेट र नगरपालिकाको बोर्ड तत्काललाई मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका नगर अध्यक्षहरूले संयुक्त वक्तत्व जारी गर्दै साम्पाङको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जनाएका छन् ।
नेपाली कांग्रेसले ६ दलसँगै वक्तब्य ननिकाले पनि कांग्रेस नेता तथा धरानका पूर्वमेयर तिलक राईले स्थानीय सरकार संचालन ऐन विपरीत कार्यवाहक दिइएको टिप्पणी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क) १२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’
विज्ञप्तिमा नेपाली कांग्रेसले भने हस्ताक्षर नगरेपछि ,‘ नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने पार्टीबाट निर्वाचित वडा अध्यक्षले आफ्नै पार्टीसहितले बनाएको संविधान र कानूनविपरीत सर्तसहित केवल थपनामात्रको कथित कार्यवाहकको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’
यसअघि झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश सोमकान्त मैनालीको इजलासले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
२०८० भदौ ५ गतेको आदेशमा गाउँपालिकाका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । अदालतको आदेशसँगै गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् । स्वतन्त्र उमेदवारी दिएर उपमहानगर प्रमुखमा विजयी भएका साम्पाङ धरानमा खानेपानीको वितरणका कारण चर्चित छन् ।
उनी सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरिरहने कारण विवादित छन् । लण्डन उड्दै गर्दा पनि उनले काठमाडौंमा रहदा दर्जनबढी स्टाटस सामाजिक संजालमा लेखेका छन्, अरूलाई पाप चिताउनेको दाहिने भगवान् कहिल्यै हुँदैनन् ! यति बुझ्नु ‘सबैको हित चिताउने मानिसलाई भगवानले सदैब साथ दिइरहन्छन् !’ जय मानव ! यसको करिब एक घण्टापछि साम्पाङको आफू रातभरि निदाउन नसकेको उल्लेख गरेका छन् ।
जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कसम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन् कुराहरू मडारिएर सुत्न दिएन ! लागियो एयरपोर्ट तर्फ !’उनी श्रीमती र छोरासहित लण्डनका लागि उडेका छन् ।