५ कार्तिक , काठमाण्डौ।
आगामी मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का टोलीहरुले धमाधम विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।यसैक्रममा पोखरा एभेन्जर्सले अर्का विदेशी खेलाडीलाई पनि टोलीमा अनुबन्ध गरेको छ ।
नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडेले पोखराले टोलीमा भित्र्याएको हो । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ६ सय ९७ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् ।
बास डे लीडलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।
एनपीएलका लागि पोखराले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।
एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।
यस्तै पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट एनपीएल क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएको छ ।
उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९४ रन बनाउँदै ४ विकेट लिएका छन् । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टोली थप बलियो बन्ने विश्वास लिएको बताएका छन् ।
कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेका छन् । कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो ।
उनी हालसम्म टेष्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग (एनपिएल)मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् । कर्णाली याक्सको टोलीमा सोमपालसंगै गुलशन झा, देव खनाल, नन्दन यावद,अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे रहेका छन् ।
यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलनलाई अनुबन्ध गरेको छ । टोलीले सोमवार सामाजिक संजालमार्फत म्याकमुलनलाई अनुबन्ध गरेको जनाएको छ । जगत टमाटा प्रशिक्षक रहेको सुदूरपश्चिमकको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।
सुदूरपश्चिमले पहिलो विदेशी खेलाडीको रुपमा २५ वर्षीय म्याकमुलनलाई अनुबन्ध गरेको हो । उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।
सुदुरपश्चिम रोयल्सको टोलीका दीपेन्द्रसंगै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ रहेका छन् ।
यसअघि विराटनगरले अकिब इल्यासलाई टोलीमा अनुबन्ध गरेका थिए । नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।