५ कार्तिक , एजेन्सी ।
न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।
तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो । न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले २७ बलमा सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १८ बलमा १७ तथा चालो ट्राइअनले १४ रन जोडिन् ।
न्युजिल्यान्डका लागि अमेलिया केर र रोजमेरी मेरले समान ३ तथा इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।
न्युजिल्यान्डकी अमेलिया केरले ३८ बलमा सर्वाधिक ४३, ब्रुकी हलिडेले २८ बलमा ३८ तथा सुजि बिटेसले ३१ बलमा ३२ रन जोडिन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट लिइन् । जितसँगै न्युजिल्यान्ड ट्वान्टी–२० विश्वकपको नयाँ च्याम्पियन बनेको हो ।
यसअघि, महिला ट्वान्टी–२० विश्वकपको इतिहासमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक उपाधि जितेको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान एक पटक उपाधि जितेका छन् ।