५ कार्तिक , काठमाण्डौ।
आफ्ना सभापतिलाई प्रतिशोध साँध्दै हिरासतमा राखिएको भन्दै उनको वचाउमा पोखरामा प्रर्दशन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि प्रदर्शन गर्ने भएको छ ।पृथ्वीचोकमा रास्वपाले आजपनि आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।
रवि पक्राउ परेपछि देशकै राजनीतिक तंरगित बनिरहेका बेला पोखराको सडकभने तातिएको छ । आइतबार सहिदचोकमा भएको प्रदर्शनमा प्रहरील् बल प्रयोग गरेको थियो । प्रर्दशनलाई नै मध्यनजर राख्दै जारी गरिएको निषेधाज्ञाको उलंघन गरिएको भन्दै प्रहरीलेपानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । उनी अब बुधबारसम्म प्रहरी हिरासतमा रहने छन् । तर उनी रिहा नहुन्जेलसम्म पोखरा नछाड्ने तयारीमा रास्वपाका शीर्षनेतादेखि कार्यकर्ताहरु देखिएका छन् ।
आन्दोलनकै लागि रास्वपाले प्रत्येक जिल्लाबाट १ सय जनाका दरले पोखरामा उपस्थित हुन उर्दी जारी गरेको छ । शुक्रबार मध्यरातदेखि नै रविलाई पक्राउ गरेपछि सडकमा निस्किएका रास्वपा कार्यकर्ताले दिनहुँ आन्दोलन गरिरहेका छन् ।
रवि पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ भने सहकारी पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि रवि पक्राउको घटनामा विभक्त भइरहेका छन् ।
नेकपा माओवादीका कार्यकर्ता पनि रास्वपासँग नजिक र सहानुभूति राखिरहेको देखिएको छ भने एमाले–कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउको समर्थन गरिरहेका छन् । रविमाथि यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दासँग मिलान हुने गरी अदालतले अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो ।
योसँगै अझै ३ दिन रास्वपाका अधिकांश नेता पोखरामै रहेर आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । रास्वपाको आन्दोलनकै कारण आइतबार दिनभर पर्यटकीय शहर पोखरा तनावग्रस्त भयो ।
रास्वपाले पोखरामा आज पृथ्वीचोकमा जम्मा भएर प्रदर्शन गर्दै पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा राखिएको प्रहरी कार्यालय रहेको गैह्रापाटनसम्म पुग्ने तयारी रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।
रास्वपाले पोखरा केन्द्रित आन्दोलन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको विश्लेषण गरी शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्रसमेत घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले शहीद चोक आसपासमा पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइडसम्म निषेधित क्षेत्र तोकेको छ ।
यसैगरी गैह्रापाटन आसपासमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । अब रास्वपाले निषेधित क्षेत्रमै प्रर्दशनको तयारी गरेकाले आजपनि प्रहरीसँग आमनेसामने हुनु पर्ने स्थिति निम्तने आकलन गरिएको छ ।
आइतबार नै रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरुमा पानीको फोहोरा र पछि अश्रुग्याँस हानेको थियो । प्रदर्शनका क्रममा केही युवामाथि कुटपिट भयो भने एक जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।
रास्वपाले रविलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रवि पक्राउकै विरोधमा उनको रिहाइसहित रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
ज्ञापनपत्रमा रविको ततत्काल रिहाइ, विभिन्न भ्रष्टचार काण्डहरुको छानविन र काग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरललाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।