१२ कार्तिक , काठमाण्डौ ।
गोरखा रेजिमेन्टका लागि वा अन्य विदेशी सेना वा सुरक्षामा भर्ना हुन, यहाँसम्म कि युद्धरत देशको सेना बन्नका लागि पनि नेपाली युवाहरु लालाहित देखिन्छ । त्यसैले त ज्यानको बाजी राखेर सयौं युवाहरु युद्धकै बीच रुसी सेनामा भर्ना भएका छन् ।
जसमा परि कयौंको ज्यानसमेत गइसकेको छ । केही बेपत्ता छन् । विदेशी सुरक्षा निकायको हिस्सा बन्नका लागि ज्यान फाल्न तयार हुने नेपाली युवाहरुको आफ्नै देशमा भने उनीहरुको मोह भंग भएजस्तो देखिएको छ । यो तथ्य भने प्रहरीको अधिकृतस्तरीय दरबन्दीमा परेको न्यून आवेदनले उजागर गरेको हो ।
पछिल्लो पटक नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असइ)को भर्नामा न्यून आवेदन परेको छ । नेपाल प्रहरीले मागेको ६४ इन्स्पेक्टरका लागि दुई हजार ३०५ तथा २५६ असईको मागमा १५ हजार ९२१ आवेदन परेको छ ।
मागभन्दा धेरै भएपनि यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार ७९३ तथा असइमा २६० जनाको मागमा १९ हजार ९३२ जनाको आवेदन परेको थियो ।
प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रूपमा आवेदन नपरेको बताउँछन । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा–सुविधा र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’
विगत वर्षमा एकपटक मात्र भर्ना खुल्नेमा अहिले दुईपटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ । नयाँ पुस्तामा विदेशप्रतिको मोह बढेको, प्रहरीमा न्यून सेवा–सुविधा हुने, तर ड्युटी कठिन हुने भएकाले पनि प्रहरी सेवामा आकर्षण घटेको प्रहरीका विगतका अध्ययनले देखाएका छन ।
प्रहरी सेवामा आकर्षण बढाउन नेपाल प्रहरीले अध्ययन गरेर आवेदन बढाउने प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु भर्ना भएकालाई टिकाउन नसक्दा पेन्सन अवधिसमेत नपुगी जागिर छाड्ने प्रवृत्तिसमेत बढ्दो छ ।
इन्स्पेक्टर न्यूनआवेदनको कारण भनेको उमेरहद पनि हो । इन्स्पेक्टरमा आवेदनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र २५ वर्ष उमेर कट्न नहुने मापदण्ड छ । चारवर्षे स्नातकका कारण पढाइ पूरा गर्दा उमेर करिब २३ वर्ष पुग्ने अवस्था छ ।
सोही कारण आवेदन घटेको निष्कर्षका आधारमा हाल सरकारले इन्स्पेक्टर भर्नाको उमेरहद २७ वर्ष बनाउने प्रक्रिया अघि बढाएको छ । हाल परामर्शका लागि लोकसेवा आयोग पुगेको प्रहरीसम्बन्धी विधेयकमा २७ वर्षसम्म आवेदन लिने प्रावधान प्रस्ताव गरिएको छ ।
निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन पर्ने गरेको छ । नेपाल प्रहरी मात्र नभई सबै सुरक्षा निकायमा हरेक वर्ष आवेदनदर घटिरहेको छ । सुरक्षा सेवामा पहिलेजस्तो सम्मानित नहुनु र अन्यत्र धेरै अवसर हुनुले पनि आकर्षण घट्दै गएको प्रहरी अधिकारी बताउँछन ।
यसरी क्षमतावान् युवा सुरक्षा सेवामा नआउँदा भावी दिनमा संगठनको प्रभावकारितामा नै असर पर्न सक्नेसमेत उनीहरूको चिन्ता छ ।