२५ कार्तिक ,काठमाण्डौ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गरेको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो ।
यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।
शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो । आइतबार म्याद थप भएमा उनलाई रूपन्देही लैजाने तयारी छ । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी लक्ष्मी खनालले रविलाई रूपन्देही ल्याउन तयारी अवस्थामा रहेको बताए । ‘कास्की जिल्ला अदालतले म्याद थप गरेमा आइतबार नै रूपन्देही ल्याउन सकिन्छ’, उनले भने ।
लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।
यता रास्वपाले सभापति पक्राउविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको छ । उसले आज पनि पोखरामा प्रदर्शन गर्दै छ । रास्वपाले जिरोमा समर्थकहरू डाकेर त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्दैछ ।
यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको छ । रास्वापाले पार्टीकोे बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न पक्राउ गरेको निष्कर्ष निकालेको छ । संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारी प्रकरणमा संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको उल्लेख भए पनि सोही अभियोगमा पक्राउ गरिएको उसको भनाइ छ ।
पक्राउको वास्तविक उद्देश्य रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न खोजेको उसको आरोप छ । रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनको घोषणा समेत गरेको छ । रविपक्षीय वकिलले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् ।