Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तानविरुद्ध नेपाल २–० गोलले विजयी

अफगानिस्तानविरुद्ध नेपाल २–० गोलले विजयी

२ मंसिर,एजेन्सी ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो ।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो । एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा अप्रिल २०११ मा १–० को जित निकालेको थियो ।

त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ । साफका ती दुवै सेमिफाइनल जुन नयाँ दिल्लीमा २०११ र काठमाडौंमा २०१३ को भेटमा अफगानिस्तानले बाजी मारेको थियो । उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो ।

काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो । तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए । त्यसपछि ७८औं मिनेटमा रोहितले करियरकै पहिलो र खेलका लागि दोस्रो गोल गरे ।

सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता ९१ खेल खेले पनि उनी गोलविहीन थिए । खेलको ८७ औं मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २–० को स्थितिमा राखे ।

उनले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पारेका थिए । नेपाल पहिलो खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो।

अफगानिस्तानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेसँगै मंगलबार ताजिकिस्तानसँग खेल्ने छ । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले पनि दोस्रो खेलमै जितको स्वाद चाखेका छन् ।

अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ । एन्फाले रिक्त रहेको प्रशिक्षक पदका लागि आवेदन प्रक्रिया अघि बढाइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.