१० मंसिर,काठमाण्डौ ।
सरकारले भन्सार दर घटाँएपछि सुनको भाउ एकैदिन तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । सुनको भाउमा एकैदिन यति ठूलो अन्तरले घटेको यो संभवत पहिलो पटक हो।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले बताएका छन् ।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताएका छन् ।
सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पु¥याएको थियो । आर्थिक वर्ष ०८१÷८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो ।
भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए । केही महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रहसमेत गरेको थियो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले पनि यसको पुष्टि गरेका छन् । भारतले आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ ।
नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पु¥याएको थियो । यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।
खुला सीमाका कारण भन्सार दरबीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाएको महासंघले जनाएको थियो । भन्सार दरबीच भएको असन्तुलनले अवैध कारोबार हुने भन्दै भन्सार दर ८ प्रतिशत कायम गर्नुपर्ने महासंघले सुझाएको थियो ।
मन्त्रिपरिषद्ले १० प्रतिशत कायम गरिदिएको हो । सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई केही राहत भएको छ । अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई मात्रै सुन आयातको अनुमति छ ।
बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि÷निर्देशिका २०६८’ समेत बनाएको छ । तर सुनको भाउले कीर्तिमानीमाथि कीर्तिमानी बनाएको छ ।
जसले गर्दा बैंकहरूले कम मात्रामा मगाएका छन् । अब आयात हुने सुन भने भन्सार दरकै कारण केही सस्तो हुनेछ । रुस अनि युक्रेन र इजरायल अनि हमासबीचको युद्ध चर्किन थालेपछि सुनको भाउ बढेको छ ।
सुरक्षित लगानी खोज्न व्यवसायीहरूले सुनमा लगानी बढाएपछि मूल्य उकालो लागेको बताइन्छ ।