१६ मंसिर ,काठमाण्डौ।
पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा विराटनगर विराटनगर किंग्स्लाई सहज रुपमा पराजित गर्दै जनकपुर बोल्ट्सले आफूलाई अब्बल सावित गरिसकेको छ । विश्वभरबाट हेरिएको पहिलो एनपिएलको उद्घाटन खेलमा दुवै टिमका नेपाली खेलाडीहरु खासगरी ब्याटिङतर्फ भने निरीह सावित भए ।
लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेटमा नेपाली टिमबाट देखिने ब्याटिङ तर्फको निरिहता हिजोको एनपिएलमा पनि देखियो । उपाधि दावेदार मानिएका दुवै टिमबाट १५ जना खेलाडी ब्याटिङमा आए । जसमा नौ नेपाली र ६ विदेशी ब्याटर थिए ।
उद्घाटन खेलमा दुई अर्ध शतक पनि बिडम्बना नै भन्नुपर्छ नेपाली कुनैपनि खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन् । टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाउँदै एनपिएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बने । जसमा अर्का विदेशी अकिब इल्सासले १५ रन थपे । यसबाहेक विराटनगरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विराटनगरका निकोलस किर्टोनले नौ, बसिर अहमेद, कप्तान सन्दीप लामिछाने र अनिल खरेल समान सात रन बनाए । क्रिस सोलले चार, प्रतिश जिसीले दुई, राजेश पुलामी एक रनमै पभेलियन फर्किए । विराटनगरका जितेन्द्र मुखिया गोल्डेन डक भए ।
खेल जनकपुरले जिते पनि जनकपुरका तर्फबाट नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ भने गर्न सकेनन् । १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।
जनकपुरको जितमा मिलान्थाले अविजित ७५ रन बनाए । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए । जनकपुरले ओपनर आसिफ शेखलाई शून्य र कप्तान अनिल साहलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।
ब्याटिङमा कमजोर रहे पनि बलिङतर्फ भने नेपाली बलरको प्रदर्शन सन्तोषजनक रह्यो । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए । उता विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए ।
यस्तै किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको नाममा एक विकेट रह्यो । एनपिएलमा पहिलो अर्धशतकको कीर्तिमान बनाएका न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको नयाँ पिचमा ब्याटिङ गर्न सहज नभएको बताए ।
‘ब्याटमा बल कनेक्ट नहुँदा सुरुमा मलाई खेल्न गाह्रो भयो । निकै कठिन विकेट थियो। पहिलो ब्याटिङ गर्न सहज थिएन। बल सिधा आइरहेको थिएन,’ उनले भने । नेपाली दर्शकको उच्च प्रशंसा गर्दै उनले यसअघि आफूले नेपाली समर्थकको यो उत्साह नदेखेको बताए ।
उनले अगाडि भने, “मैले नेपालीले क्रिकेट मन पराउँछन् भन्ने सुनेको थिएँ, आज देखेँ । काठमाडौंमा क्रिकेट खेल्न पाउँदा खुसी छु । आजभन्दा अघि नेपाली समर्थक देखेको थिइनँ, आज यहाँ देख्न पाएँ ।” यस्तै सुरुआत कठिन रहे पनि जित सहज निकालेपछि जनकपुरका कप्तान अनिल प्रफुल्लित देखिए ।
प्रतियोगिताको अघिल्लो दिन ‘भोलि खेलमा नै रणनीति देखाउँला’ भनेका अनिलले खेलपछि टिम योजनाअनुसार प्रदर्शन देखाउन सफल भएको बताए । “पहिलो जितको आशा सबै टिमले गरेको हुन्छन् ।
पहिलो खेलमा दुई अंक लिन पाउँदा टिमका सबै खेलाडी उत्प्रेरित छन् । प्रतियोगितामा अब भोलि सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने जनकपुर बोल्ट्ससँग कर्णाली याक्स भिड्नेछ ।