Nepal Times
Nepal Times
3
Shares

धरहराबाट मालामाल, राजस्वको स्रोत बन्यो

धरहराबाट मालामाल, राजस्वको स्रोत बन्यो

१७ मंसिर , काठमाण्डौ।

विसं २०७२ को भूकम्पले पूर्णक्षति भएपछि पुनः निर्माण गरिएको ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । ‘९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् ।

जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने,’ बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो ।

समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन’ उनले भने । बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताए ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम शुल्क लिई यही मङ्सिर ९ देखि धरहरा सञ्चालन भएको हो । त्यसअघि यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय भएको हो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने ५० निर्धारण गरिएको बताइएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.