२० मंसिर, विराटनगर।
अभिब्यक्तिकै कारण धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएयता जनप्रतिनिधिहरु बीच नै सर्वाधिक आलोचना खेपिएरहेका मेयर हर्कराज राई साम्पाङले समाचार लेखेकै आधारमा फेरि एक पत्रकारलाई धम्क्याएका छन् । मेयर साम्पाङले पत्रकार दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् ।
उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताएका छन्। दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए ।
त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे उनले आज १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने बताएपनि अझैसम्म आफ्ना धारणा सार्वजनिक गरेका छैनन् ।
हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’
लगत्तै अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् । दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
त्यसप्रति आपत्ति जनाउँदै महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेखेर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’
समाचारमा चित्त नबुझ्दा त्यसउपर कानुनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ । ‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुख जस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’– महासंघको विज्ञप्तिमा भनिएको छ ।
साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ । यस्तै पत्रकार महासंघ कोशी प्रदेश र महासंघ सुनसरी शाखाले पनि विज्ञप्ति जारी गर्दै हर्कको अभिब्यक्तिको भर्तसना गर्दै कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
यसअघि पनि मेयर हर्कले पटक पटक पत्रकारलाई धम्की दिइसकेका छन् । हर्क काकाकुल धरानमामा पानीको व्यवस्थापन गर्ने लगायतका चुनावी योजनासहित स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका थिए । उनले सप्तकोशीको पानीको धरानमा लैजाने समेत बताउदै आएका छन् ।