२१ मंसिर , काठमाण्डौ।
नेपाल प्रिमियर लिग (एनपिएल) लगातार २ खेलमा पराजय भोगेको पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । त्यो पनि पहिलो ऐतिहासिक शतक र पहिलो १० विकेटको विजयमार्फत । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
जारी एनपिएलमा १० विकेटको जित अहिलेसम्म कुनैपनि टोलीले हासिल गर्न सकेका थिएनन् । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो ।
विकेटको आधारमा यो जारी एनपिएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे। गौसले नटआउट १०४ रन र दिनेशले नटआउट ६१ रन जोडे।
गौसले एपिएलकै छिटो अर्धशतक पूरा गरे । उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। यो एनपिएलको पहिलो शतक हो। गौसले ५५ बलमा १२ चौका र ५ छक्का तथा दिनेशले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
एनपिएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो।
खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। उनी मात्र ५ रनका कारण पहिलो शतक बनाउनबाट चुके । रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए।
जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे। त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए।
आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए।उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।
सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए। पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।
अब एनपिएलमा भोलि लुम्बिनी र सुदूर पश्चिम तथा कर्णाली र विराटनगर भिड्ने छन् । आजको पहिलो खेलमा कर्णालीले चितवनविरुद्ध पहिलो जित दर्ता गरेको थियो ।