२८ मंसिर , काठमाण्डौ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ भने विराटनगरको प्लेअफको संभावना जिवितै छ। तर यसका लागि विराटनगरले अरुको जित र हारको भर पर्नुपर्नेछ ।
शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो। शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ।
विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ। यो जितले प्लेअफमा विराटनगरले झिनो संभावना कायम राखेको छ। विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ।
सो खेलमा विराटनगरले जित निकाले पनि विराटनगर शीर्ष चारमा पुग्न कठिन छ। सो खेलमा विराटनगरलाई जित निकालेर मात्र पुग्दैन अन्य खेलमा काठमाडौ र पोखराको अन्य खेलको नतिजा पनि महत्वपुर्ण हुने रहनेछ।
काठमाडौ र पोखरा सँगै चितवनको खेलको नतिजा र नेट रनरेट पनि विराटनगरका लागि उत्तिकै आवश्यक छ। यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ। चितवनले लिगको आफ्नो अन्तिम खेलमा भोलि शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ।
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई केही कठिन भने पक्कै पर्नेछ। एनपीएलको ६ खेलमा ३ खेलमा जित र ३ खेलमा नै हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ।
चितवनले अन्तिम खेलमा पनि हार भोगेको अवस्थामा काठमाण्डु, पोखरा र कर्णालीको नतिजाले पनि असर गर्नेछ। आज त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाएको हो। विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।
जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो। चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे।
यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक–एक विकेट हात पारे। आजको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो ।