२ पुष ,एजेन्सी ।
कतै जवाफी आक्रमणको नाममा त कतै सजायका नाममा मानिसहरुको हत्या भइरहेको छ । युद्धका क्रममा आपसी लडाइँमा सैनिकहरु मारिनु त स्वभाविक नै मान्न सकिएला तर युद्धकै नाममा निर्दोष मानिसहरु त्यो पनि हजारौंको संख्यामा मारिनुले भने मानवतामाथि नै प्रश्न उब्जाएको छ ।
यसबीच दुई कट्टर शत्रु देशहरु इरान र इजरायलका कारण कयौंले ज्यान गुमाउनु परेको छ । यी दुईबीचको सिधा जवाफी हमलामा त खासै धेरै मानविय क्षति नभएपछि यिनिहरु जोडिएका अन्य कयौं घटनामा हजारौंको ज्यान गइरहेको छ ।
इरान समर्थित हिज्बुल्लाह होस्, हमास वा हुथी वा अन्य कुनै समूहसंगको इजरायल वा अमेरिकी संघर्षमा धेरैको ज्यान गइसकेको छ । गाजामा यसको विभत्स रुप देखिएको छ । प्रतिरक्षाको नाममा इजरायलले गाजामा रहेका प्यालेस्टाइनीमाथि सामुहिक हत्या जारी राखेको छ ।
सन् २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । जो पूर्ण निहत्था थिए । गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन् भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तीमध्ये पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसबीच उता इरानले गत आइतबार मात्रै ११ जना कैदीलाई मृत्युदण्ड दिएको छ भने एक राजनीतिक कैदीलाई गत हप्ता अन्य कैदीहरूबाट छुट्टै कक्षमा पठाइएको छ ।
एकै दिन ११ जना कैदीलाई मृत्युदण्ड दिए पछि मानवअधिकार संगठनहरूले इरान सरकारमाथि प्रश्न उठाएका छन् । नर्वेको हाङ्गाव र इरानको हलभास समूहले भनेका छन् कि मृत्युदण्ड दिइएका मध्ये ७ जनालाई मध्य इरानको याजद केन्द्रीय कारागारमा र ४ जनालाई दक्षिण पूर्वको जाहेदान केन्द्रीय कारागारमा फाँसी दिइएको थियो ।
यसरी फाँसी दिइएका कैदीहरू हत्या र लागूऔषध सम्बन्धी अपराधमा अभियुक्त थिए । मानव अधिकार समूहहरूले यस हप्ता बुधबार र आइतवारको बीचमा इरानी जेलहरूमा कम्तिमा ३४ कैदीहरूलाई फाँसी दिइएको जानकारी दिएका छन ।
शनिबार राजनैतिक बन्दी समन मोहम्मदी–खियारेहलाई कारजको घेजेल हेसार कारागारको एकान्त कक्षमा पठाइएको थियो । यो कदमले उनलाई चाँडै फाँसी दिने संकेत गरेको छ । इरान इन्टरनेशनलका अनुसार उनको परिवारलाई अन्तिम भेटका लागि बोलाईएको छ ।
मोहम्मदी खियारेहलाई १९ वर्षको उमेरमा शासन विरोधी समूहहरूको सदस्यता मार्फत ‘भगवान विरुद्ध युद्ध’ गरेको आरोपमा गिरफ्तार गरिएको थियो, जसमा उनी दोषी पाइएको जनाइएको छ । र, हाल उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार विश्वका ५५ देशमा मृत्युदण्डको व्यवस्था छ । सन् २०२२ को तथ्याङ्कअनुसार चीनले सबैभन्दा बढी मृत्युदण्ड दिएको छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका पछि यसमा सामेल रहेका छन् ।
साउदी इरान जस्ता देशमा फाँसी दिने मात्र नभई सार्वजनिक रूपमा पनि झुण्ड्याउने व्यवस्था छ । धेरै मानव अधिकार समूहहरूले मृत्युदण्डको कानुनको विरोध गर्दै आएका छन् र देशहरूलाई मृत्युदण्डको सजाय हटाउन माग गर्दै आएका छन् ।