२२ पुष , विराटनगर।
नेता पिच्छे राजनीतिक दल बनाइएको र मधेस र त्याहाका जनताको समस्यालाई सिढी बनाएर राजनीतिक गरिरहेको आरोप खेप्दै आएका मधेसवादी दलहरुबीच एकताको पहल सुरु भएको छ ।
मधेसवादी दलहरुबीच एकता र सहकार्यका लागि जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदल बनाएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गरेका छन् ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग सहकार्यको पहल गर्न दुई सदस्यीय कार्यदल बनाएको छ । आइतबार बसेको सचिवालय बैठकले मधेश केन्द्रित दलहरूबीच सहकार्यको पहल गर्न उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
उनका अनुसार कार्यदलमा प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन् । पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् । मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास चलिरहेको बेलामा डा. सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको तहसम्म जानेगरी छलफल चलिरहेको चर्चा छ ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ। लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।
लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन गरेको उल्लेख छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य र एकताका लागि वार्ता समिति बनाएको छ। लोसपाले मधेश केन्द्रित दलहरूसँग सहकार्य, कार्यगत एकताका साथै एकीकरणका लागि पाँच सदस्यीय वार्ता समिति बनाएको हो।
समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय डा.सुरेन्द्रकुमार झा र मनिषकुमार झा छन्। संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य एवं कार्यगत एकता आवश्यक रहेको लोसपाको ठहर छ।
‘मधेश केन्द्रित राजनीति पार्टीहरूबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्ने दलहरूसँग पार्टी एकीकरण गर्ने सम्मको सम्भावनाको खोजी तथा परिणामुखी बनाउन वार्ता समिति गठन भएको,’ अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीको वार्ता समितिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि संवाद गरिसकेको छ ।
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन भएपछि मधेश केन्द्रित दलहरू सहकार्यका लागि पहल थालेको हो। संविधान संशोधन, समावेशिता, संघीयतालगायतका मुद्दामा सहकार्यको विकल्प नभएको मधेश केन्द्रित दलहरूको भनाइ छ।
तर उनीहरु आफैमा भने विभिन्न दलहरुका विभक्त रहेका छन् । उनीहरुमाथि मधेसको समस्या सत्तारोहणका लागि मात्रै उपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । सरकारमा जानका लागि पनि मधेसवादी दलहरु विभाजन हुँदै आएका छन् ।
यसको पछिल्लो उदाहरण जसपाको विभाजन हो । सत्ताकै कारण तत्कालीन समयको मधेसी जनअधिकार फोरम पटक पटक विभाजन भइसकेको छ । अहिले प्रतिनिभिसभामा मधेसवादी दलहरुका सांसदको संख्या ३० को हाराहारीमा रहेको छ ।