२७ पुष ,एजेन्सी ।
अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्।
मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ । लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्। आगो पालिसेड्समा सबैभन्दा व्यापक छ।
यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ । इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ ।
यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ । लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।
हष्र्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ । योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।