२८ पुष , काठमाण्डौ।
नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ गतेदेखि शृंखला हुन लागेको हो ।
शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखला सुरु गर्नेछ । १८ गते थाइल्यान्डसँग खेल्दै पहिलो चरणको खेल समाप्त गर्नेछ ।
त्यसपछि दुई दिनको विश्राम लिएर नेपाली टोलीले माघ २१ गते पुनः नेदरल्यान्ड्ससँग खेल्दै दोस्रो चरण सुरु गर्नेछ । त्यसको भोलिपल्टै पुनः थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ । त्यसपछि नेपालले माघ २४ गते नेदरल्यान्ड्स र २५ गते थाइल्यान्डसँग खेल्दै शृंखला सक्काउने छ ।
यसबीच नेपाली टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सिरिजमा सहभागी टोलीले एक अर्का ३ पटक खेल्नेछ । अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो ।
यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । यसैबीच विश्वकपमा सहभागी हुन नेपालको १९ वर्षमुनिको महिला क्रिकेट टोली हिजो मलेसिया गएको छ ।
पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली मलेसिया पुगेको हो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । यो विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य रहेको कप्तान पूजा महतोले बताएकी छन् । क्यानले महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।